चालु आर्थिक वर्ष २०७८/७९ सकिनै लागेको छ । तर, बजेट खर्चको अवस्था हेर्ने हो भने निकै टीठलाग्दो अवस्था छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म मुस्किलले कुल बजेटको जम्मा ६२ प्रतिशत मात्र खर्च हुन सकेको छ । अझ पुँजीगत खर्च तर्फको अवस्था हेर्ने हो भने त विनियोजित बजेटको ४० प्रतिशत पनि खर्च हुन सकेको छैन ।
महालेखा कार्यालयको रिपोर्टअनुसार जेठ ३१ सम्म कुल १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ८ खर्ब २ अर्ब २ करोड ५ लाख रुपैयाँ खर्च हुँदा यता पुँजीगततर्फ विनियोजित बजेटको जम्मा ३६ प्रतिशत मात्र खर्च हुन सकेको छ । अर्थात् चालु आर्थिक वर्षका लागि विकास खर्चका लागि छुट्याइएको कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बराबरको बजेटमा हालसम्म १ खर्ब ३६ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ मात्र खर्च हुन सकेको हो ।
बाँकी २ खर्ब ४१ अर्ब २१ करोड २९ लाख रुपैयाँ चालु आर्थिक वर्षको एक महिनाभित्र खर्च गरी सक्नुपर्ने चुनौती यतिखेर सरकार सामु छ । के बाँकी बजेट ३० दिनभित्र खर्च गर्ने सामर्थ्य सरकारले राख्न सक्छ ? अवश्य सक्ने छैन । चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पुँजीगत खर्चको ६० प्रतिशतमाथि खर्च नहुने अब प्रायः निश्चित जस्तै छ ।
के कारणले बजेट खर्च हुन सकेन ?
खास गरी चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ४० प्रतिशत पनि हुन नसक्नुमा प्रमुख चार कारण रहेको अर्थविद् डा.चन्द्रमणि अधिकारी औंल्याउँछन् । कमजोर बजेटरी धरातल, फितलो कार्यान्वयन पक्ष र कानुनी जटिलता तथा व्यवधान नै मुख्य बजेट खर्चको समस्या रहेको उनको तर्क छ ।





