नेपाली फुटबल राजनीतिमा स्वनाम, दुर्नाम जे भने पनि नमेटिने नाम हो गणेश थापा । २०५१ सालदेखि २०७१ सालसम्म नेपाली फुटबल नेतृत्वमा एकछत्र राज गरेका थापाको हालिमुहाली अहिले पनि देखिन्छ ।
भलै थापा अहिले एन्फाको चुनावमा बाहिरी रुपमा सक्रिय भएका देखिएका छैनन् । तर, उनीभित्री रुपमा एन्फाको चुनावका लागि‘गोल’ गर्ने मुख्य पात्र हुन् । नेपाली फुटबलमा थापाको अहिले पनि पकड छ । एन्फाको आसन्न चुनाव यही असार ६ गते हुँदैछ । त्यसका लागि बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ मुख्य प्रतिस्पर्धामा छन् ।
स्रोतकाअनुसार अध्यक्षका प्रत्याशी नेम्वाङ पक्षधरलाई थापाले भित्री रुपमा सहयोग गरिरहेका छन् । उनको सहयोगले पनि नेम्वाङलाई एन्फा चुनावमा बलियो बनाएको छ । फिफा र एएफसीको कारवाहीमा परेका थापा बेला–बेलामा चर्चामा आउँछन् ।
अन्य समय चुपचाप बस्ने थापा जब एन्फाको चुनाव आउँछ, सक्रिय देखिन्छन् । उनको सक्रियताले नै एन्फामा चुनाव आएको संकेत पनि गर्छ । एन्फाको अघिल्लो चुनाव आउनुभन्दा केही समयअघि उनले बर्तमान अध्यक्ष शेर्पाले आफूविरुद्ध झुटा आरोप लगाएर चरित्र हत्या गरेको भन्दै न्यायका लागि लड्ने बताएका थिए ।





