सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्यानिटरी प्याड आयातमा लाग्दै आइरहेको भन्सार करमा भारी कटौतीको घोषणा गर्यो । यसअघि, लाग्दै आइरहेको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गर्दै १.५ प्रतिशतमा झारिएको छ । यसले देशमा रहेका ४० वटा स्यानिटरी प्याड उद्योगको ६ अर्ब लगानी र ६ हजारभन्दा बढीको रोजगारी गुम्ने जोखिम बढेको छ ।
आगामी वर्षको बजेटले त स्यानिटरी र बेबी डाइपर उत्पादन गर्ने उद्योगहरूलाई सङ्कटमै धकेल्यो भन्ने गुनासो छ । कसरी तपाईंहरु अप्ठ्यारोमा पर्नुभयो ?
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट वक्तव्यमा स्यानिटरी प्याडको तयारी वस्तु आयात गर्दा साबिकमा रहेको भन्सार करलाई ९० प्रतिशत घटाइएको छ । नयाँ नीतिअनुसार स्यानिटरी प्याडको तयारी वस्तु आयात गर्दा १.५ प्रतिशत मात्रै भन्सार कर लाग्छ । यस्तै, स्यानिटरी प्याड उत्पादन गर्न लाग्ने कच्चा पदार्थको भन्सार दर १ प्रतिशत घोषणा गरिएको छ । तर, स्यानिटरी प्याड बनाउन १२ प्रकारका कच्चा पदार्थ चाहिन्छ । यी सबै वस्तु आयात गर्दा ८.५ प्रतिशतसम्मको भन्सार दर लाग्छ । जबकि, १.५ प्रतिशतमा तयारी वस्तुको आयात हुन्छ ।
१.५ प्रतिशत भन्सार दरमा तयारी वस्तुको आयात गर्ने र कच्चा पदार्थमा लाग्दै आएको ८.५ प्रतिशत भन्सार दरलाई घटाएर १ प्रतिशतमा ल्याए पनि नेपालमा कुनै पनि उद्योग चल्न सक्दैनन् । किनकि, नेपाल भारत र चीन जस्ता भीमकाय बजार र उत्पादन भएका मुलुकको बीचमा पर्छ । ती देशको उत्पादन लागत र नेपालको तुलना हुनै सक्दैन । त्यसैले भन्सार दरमा ०.५ प्रतिशतसम्मको मात्रै फरक हुँदा पनि स्वदेशी उद्योग चल्न नसक्ने स्थिति आउन सक्छ ।





