नेपाली काँग्रेसमा विधानतः दुई जना उपसभापतिको व्यवस्था भए पनि जिम्मेवारीको हिसाबले एउटा उपसभापति हर्ताकर्ता रहने र अर्को उपसभापति नाममा मात्र सीमित रहने अवस्था देखिएको छ । काँग्रेसले १४ औँ महाधिवेशनबाट विधानतः दुई जना उपसभापतिको अभ्यास थालेको हो ।

त्यसअघि पनि काँग्रेसले दुई उपसभापतिको अभ्यास नगरेको होइन । १३ औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले ०७५ वैशाखमा विमलेन्द्र निधिलाई उपसभापतिमा मनोनीत गरेका थिए । ०७४ मा लोकतान्त्रिक फोरमलाई काँग्रेसमा समाहित गराएका विजयकुमार गच्छदार पनि ०७५ कात्तिकमा राजनीतिक निर्णयका रूपमा उपसभापति मनोनीत भए । त्यतिबेला विधानमा दुई उपसभापतिको व्यवस्था थिएन ।

०७८ मङ्सिरसम्म काँग्रेसमा दुई उपसभापतिको अभ्यास भयो । तत्कालीन समयमा गच्छदार नामका मात्र उपसभापति हुँदा निधिको राम्रै रजगज चल्यो । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा निधिले जिम्मेवारी पाएका थिए । देउवाले आफू देशबाहिर जाँदा कार्यवाहक सभापतिको जिम्मेवारी पनि निधिलाई नै दिने गरेका थिए । यद्यपि गच्छदारलाई संसदीय दलको उपनेता बनाएर देउवाले दुई उपसभापतिबीच केही सन्तुलन मिलाएका थिए ।

ललिता निवास प्रकरणमा मुछिएपछि गच्छदार गुमनाम हुन पुगे । दोस्रो इनिङमा भने देउवाले दुई उपसभापतिबीच सन्तुलन मिलाएर नजाने संकेत देखाएका छन् । गत मङ्सिरमा सम्पन्न महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएर आएका छन् ।

देउवा पक्षबाट खड्का र शेखर कोइराला खेमाबाट गुरुङ निर्वाचित भएका थिए । देउवाको दोस्रो इनिङ्सको ६ महिना सरकार र पार्टी सञ्चालनमा खड्का पूर्णरुपमा हावी छन् । देउवाले आफूपछि खड्कालाई निर्विकल्प रूपमा अगाडि सारेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here