काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पाँच वर्षमा सातजना मन्त्री फेरिएका छन् । यद्यपि कृषि क्षेत्रको अवस्थामा कुनै सुधार आउन सकेको छैन । २०७४ मा सरकार गठन हुँदा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ कृषि मन्त्रीमा नियुक्त भएका थिए । दुई वर्ष नपुग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बलदेवलाई हटाएर घनश्याम भुसाललाई कृषि मन्त्री नियुक्त गरे ।
भुसाल कृषि मन्त्रीका रुपमा एक वर्ष पनि टिक्न सकेनन् । २०७६ मंसिर ४ मा मन्त्री बनेका भुसाल २०७७ पुसमा बाहिरिए । संसद विघटनप्रति असहमति जनाउँदै भुसालले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
पहिलो पटक प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् समेत पुनर्गठन गरेका थिए । जसअनुसार पद्मा आर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइयो ।
तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ जेठ २१ मन्त्रिपरिषद् पुनर्गठन गर्दा पद्मा अर्याललाई हटाएर कृषि मन्त्रालय आफैसँग राखे । २०७८ असार १० गते तत्कालीन प्रधानमन्त्री ओलीले कृषि मन्त्रालयको जिम्मेवारी तत्कालीन भौतिक पूर्वाधार तथा यतायात मन्त्री वसन्त नेम्वाङलाई दिए । त्यसको २० दिनपछि माओवादी छाडेर एमालेमा आएका ज्वाला कुमारी साह कृषि मन्त्रीमा नियुक्त भइन् ।
२०७८ असार ८ गते सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकुल नभएको भन्दै बदर गरेपछि ज्वाला कुमारी साह कृषि मन्त्री पदबाट हटेकी थिइन् ।
त्यसपछि सो मन्त्रालय लामो समयसम्म प्रधानमन्त्रीकै मातहतमा रह्यो । २०७८ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा जसपाबाट महिन्द्र राय यादवलाई कृषि मन्त्रीमा नियुक्त गरेका थिए । ठिक १० महिनापछि प्रधानमन्त्री देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा महिन्द्र राय यादवलाई हटाएर त्यो ठाउँमा जसपाकै मृगेन्द्रकुमार सिंह यादवलाई नियुक्त गरेका छन् यो पाँच वर्षको अवधिमा मृगेन्द्रकुमार सिंह यादव कृषि मन्त्रालयका सातौं मन्त्री हुन् । सात जना मन्त्री फेरिए पनि कृषि मन्त्रालयको अवस्था फेरिएको छैन । मलको समस्या जस्ताको तस्तै छ । हरेक वर्ष झैं खेतीको सिजनमा मलको हाहाकार कायमै छ । यसपटक झन् समस्या भएको छ । सिंचाई, बिउको अवस्था जस्ताको तस्तै छ ।
तीन वर्षभित्र कृषिमा आत्मनिर्भर हुने घोषणा ओली नेतृत्वको तत्कालीन सरकारले गरेको थियो । तर, पटकपटक कृषि मन्त्री फेरिएका छन् भने कृषिमा आत्मनिर्भर हुनु कहाँ हो कहाँ, आयातमा वृद्धि भइरहेको छ । कृषिमा नीतिगत सुधार पनि भएको छैन । कृषि नीति, कृषि ऐन हालसम्म बन्न सकेको छैन ।
कृषिलाई सुधार गर्न विभिन्न ऐन, नियमावलीको मस्यौदा तयार गरिएको थियो तर हालसम्म त्यसको अवस्था जस्ताको तस्तै छ । केही नीति तथा निर्देशिका पारित नभएको होइन तर, त्यसको कार्यान्वयन फितलो छ ।
उत्पादन वृद्धि हुनुको सट्टा घट्दै गएको छ । चार जना मन्त्रीसँग काम गरेका पूर्व कृषि सचिव डा.योगेन्द्र कार्की भन्छन्, ‘यसरी पटकपटक कृषि मन्त्री फेरिँदा त्यसको सिधै असर कृषि क्षेत्रमा पर्ने गरेको छ ।’
मन्त्री फेरिए पनि नीति फेरिन नहुने प्रस्ट पार्दै उनले भने, ‘तर कतिपय अवस्थामा नीति पनि फेरिने गरेको हुनाले कृषिमा यसको असर पर्ने गरेको छ ।’
मन्त्री फेरिँदा सबैभन्दा मुख्य समस्या भनेको एउटा मन्त्रीले राम्रो कार्यक्रम ल्याएको भए पनि अर्को मन्त्री आउँदा त्यसलाई अस्वीकार नगर्ने र खारेज गर्ने परिपाटी रहेको उनको भनाइ छ । मन्त्री फेरिनासाथ विभिन्न विभाग तथा महाशाखाका प्रमुखहरु परिवर्तन हुनुले पनि समग्र कृषिमा समस्या हुने गरेको उनको भनाइ छ ।





