काठमाडौं ।
सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
१० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेृको अवस्थामा शव फेला परेको थियो । तर, हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन अनुसन्धान नगरेको भन्दै कांग्रेसका माननीयज्यूहरुले यो हलै थर्कनेगरी बोलेको सुनिन्थ्यो,’ सांसद सिग्देलले संसद बैठकमा भने, ‘म सोध्न चाहान्छु, देउवा सरकारले यो एक वर्षसम्म अपराधी पत्ता लगाउन के के काम गर्यो ? सिन्को भाँचेको छैन । अपराधीलाई पत्ता लगाइ कारबाही गर्र्न प्रतिपक्ष दल सहयोग गर्न चाहन्छ, दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्छु ।’
साथै सांसद चौधरीले निर्मला पन्तले न्याय पाएकी हुन् भन्दै प्रश्न गरेकी छन् । ‘सदनमा चर्काेचर्काे आवाज गुन्जिन्थ्यो, त्यो आवाज खोज्दैछु, निर्मला पन्तले न्याय पाएकै हुन् ? हत्यारा पत्ता लागेकै हो ?,’ उनले भनिन्, ‘हत्यारा पत्ता लागेको हो भने कुन कारागारमा राखेको छ ? दोषीलाई किन सार्वजनिक गरेको छैन ?’





