काठमाडौं ।
अर्थतन्त्रको संरचना परिवर्तन हुँदैछ, परिवर्तित सन्दर्भमा मध्यकालीन र दीर्घकालीन लगानी आवश्यक देखिन्छ, यसका लागि बैंकहरूले सोही अनुरुपको लगानी गर्नुपर्छ, जसका लागि ठूला बैंक आवश्यक पर्छ । ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जरपछि यो बैंक ठूलो बनेको छ । यसले अब दीर्घकालीन र मध्यकालीन लगानी गर्न सक्छ ।’
आफैले बोलाएका पाहुनाहरुले बैंक ठूलो भइसकेको, सम्हाल्न नसकिने हो कि भन्ने चिन्ता गरिरहँदा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको मनमा के कुरा खेलिरहेको थियो भन्ने अनुमान गर्न गाह्रो थियो । औपचारिक रुपमा उनले सोही कार्यक्रममा भनेका थिए, ‘यो मर्जरले ग्लोबल आईएमई बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त छौं ।’
जनता बैंकसँगको मर्जरपछि ग्लोबल आईएमई बैंक अब मर्जरमा जाँदैन कि भन्ने अनुमान धेरैको थियो । किनभने सो बेलासम्ममा ग्लोबल आइएमईसँग जनता बैंक र कमर्ज एन्ड ट्रस्ट बैंक गाभिइसकेका थिए । यस्तै, गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, एकता विकास बैंक, ब्राइट डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक गरी १० वटा विकास बैंक मर्ज भइसकेका थिए । यतिमात्रै होइन, आईएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स, हाथवे फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल आवास फाइनान्स र नवदुर्गा फाइनान्स गरी ६ वटा फाइनान्स कम्पनी पनि ग्लोबल आईएमई बैंकमा समाहित भइसकेका थिए ।
तर, बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल र बैंक व्यवस्थापन भने ग्लोबल आईएमई बैंकलाई मर्जर र एक्वीजीसनको माध्यमबाट अझै ठूलो बैंक बनाउने अभियानमा जुटेकै रहेछन् । यो कुराको उजागर त्यतिबेला भयो, जतिबेला ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाडू (बीओके) पनि मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भयो । बीओकेसँग बीओके र लुम्बिनी गरी दुई वटा वाणिज्य बैंक पहिला नै मर्ज भएका थिए । अब बीओके र ग्लोबल आईएमई बैंक मर्जर हुँदा ग्लोबल आईएमई बैंकसँग समाहित हुने बैंक तथा वित्तीय संस्थाको संख्या २१ पुग्नेछ ।

‘बैंक अफ काठमाडूूसँग पहिला नै ३ वटा बैंक तथा वित्तीय संस्था (बैंक अफ काठमाडू र लुम्बिनी बैंकसमेत) मर्ज भइसकेका छन्, त्यसैले बैंक अफ काठमाडूसँग मर्ज भइसक्दा ग्लोबल आईएमई बैंकमा २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्ज भइसकेका हुनेछन्,’ ग्लोबल आईएमई बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले भने ।
नेपालमा २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर वा एक्वीजीसनबाट एउटै संस्था बनेको ऐतिहासिक रेकर्ड ग्लोबल आईएमई बैंकले नै राख्ने भएको छ । र, ग्लोबल आईएमई बैंकमा सो बैंकसहित कमर्ज एण्ड ट्रष्ट, जनता, बीओके र लुम्बिनी गरी ५ वटा त वाणिज्य बैंक नै हुनेछन् ।
पाँच वटा वाणिज्य बैंक अलग अलग रहेको भए पाँच वटा सञ्चालक समिति, पाँच वटा प्रमुख कार्यकारी अधिकृत, पाँच वटा अध्यक्ष, पाँच वटा कम्पनी सचिव लगायत हुने थियो । त्यो परिदृश्य स्वस्थ बैंकिङ प्रतिस्पर्धाबाट अलि पर पुगेर ‘गला रेट्ने प्रतिस्पर्धा’मा परिणत हुन पनि सक्थ्यो । खर्चका हिसावले करिब ५ गुणा नै कम भयो । दर्ताको खर्च, सदस्यता खर्च पनि पाँच वटाले गर्नुको साटो एउटै संस्थाले गर्दा हुने भयो ।





