काठमाडौँ ।

श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ।

श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो। जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो। भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे।

खेलको १८ औँ मिनेटमा बोबीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३० औँ मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए।

खेलको ३९ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटियो। भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए। खेलको ६३ औँ मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अमनले गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।

भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदलासमेत लियो। नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो। नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई हराएको थियो । सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here