Home समाचार साफ जिताउने गोलकिपर रुपनाको घर बंगलादेश सरकारले बनाइदिने

साफ जिताउने गोलकिपर रुपनाको घर बंगलादेश सरकारले बनाइदिने

साफ महिला च्याम्पियनसिप जिताउन उत्कृष्ट भूमिका खेलेकी गोलकिपर रुपना चक्माको घर बंगलादेश सरकारले बनाइदिने भएको छ ।

प्रतियोगिताकै उत्कृष्ट गोलकिपर भएकी रुपनाको घर त्यहाँको सरकारले बनाइदिने भएको हो । नेपाललाई ३-१ गोलले हराउने क्रममा कयौँ प्रहारहरुलाई निस्तेज पारी टोलीलाई उपाधी जिताउन उनको ठुलो भूमिका थियो ।

बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको घरको स्थिति निकै कमजोर रहेको छ । कमजोर स्थिति भए पनि देशलाई उपाधि जिताउन उनले खेलेको भूमिकाको मधयनजर गर्दै सरकारले घर बनाइदिने भएको हो ।

रुपनाले मंगलबार आफ्नो फेसबुकमा यो जानकारी गराउँदै सरकारी प्रतिनिधिलाई धन्यवाद पनि दिएकी छिन् ।

बंगलादेशले सोमबार साफ च्याम्पियनसिपको उपाधि जितेपछि रंगमती जिल्लाका कमिस्नर मोहमद मिजानुर रहमान उपहार र नगद पुरस्कार दिन नानिआर्चर पुगेका थिए । एकै ठाउँका रुपना र ऋतु पुरना चक्मालाई जनही १ लाख ५० हजार टाँका नगद पुरस्कारसहित सरकारी टोली निवास पुगेको थियो ।

तर त्यहाँ पुगेपछि गाउँमा रहेको रुपनाको घरको कमजोर स्थिति देखेपछि सरकारले घर बनाउने रहमानले बताए । काठमाण्डौँबाट साफको उपाधि उचालेर बंगलादेशको टोली बुधबार दिउँसो बंगलादेश पुगेको छ ।

NO COMMENTS