यतिखेर सामाजिक सञ्जालमा दुई भिडियो क्लिप भाइरल छन्; एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का । यी दुवै क्लिप उनीहरूले चुनाव अघि बोलेका सत्य र स्वीकारोक्तिका जीवन्त प्रमाण हुन् ।
भिडियोमा ओली भन्छन्– ‘प्रचण्ड प्रधानमन्त्री बनाउनै नहुने मान्छे हुन् । किन बनाउने प्रचण्डलाई प्रधानमन्त्री, देश र जनतालाई दुःख दिन ?’ अनि प्रचण्डको अभिव्यक्ति छ– ‘ओलीले प्रधानमन्त्री नै दिन्छन् भने पनि यो गठबन्धन तोडेर प्रधानमन्त्री हुन जान्नँ ।’
त्यसो त यो देशका नेताले वचनको गरिमा कहिले पो कायम गरेका थिए र ! उहिले उहिले बरु ‘ज्यान जाओस्, वचन नजाओस्’ यही देश र समाजको उखान थियो । आज होइन जस्तो लाग्छ । उपभोक्तावाद र अवसरवादले सर्वसाधारणलाई मात्रै हैन, निकै ठूला र ‘मै हुँ’ भन्नेहरूलाई पनि आकण्ठ डुबाएको छ । नेताबाट वचन पालना र गरिमाको खोजी गर्ने नै बेवकुफ हुने अवस्था छ ।





