बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार तनहुँ जिल्ला अदालतले अभिनेता पूर्ण विक्रम शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका हुन् ।
प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि अनुसन्धान गरेर तनहुँ प्रहरीले २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएको दुई दिनपछि २०७८ चैत १० गतेको आदेशबाट उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन’ भन्दै पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाह उच्च अदालत पोखरा गएका थिए । तर उच्च अदालत पोखराले पनि शाहलाई थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश गरेको थियो ।





