काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् ।
मंगलबार बानेश्वरस्थित संसद् भवन अगाडि आफैंलाई आगो लगाएका इलाका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् ।
नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन् । ‘नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन’, उनले भनेका छन् ।
प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गनेृमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उनले भनेका छन् । ‘नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु’, उनले भनेका छन् ।





