काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
उनले शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै शहीद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई शहीदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् ।
उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।





