काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।

राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरुको शासन प्रणालीमै अस्थिरता रहेको उनले बताए । त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको उनको भनाइ छ ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएको भनेर राखिएको जिज्ञासामा ओलीले माओवादीका केही नेताहरुले त्यसरी बोले पनि आफूलाई त्यस्तो नलागेको बताए ।

उनले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताए । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उनले त्यही सहमति अनुसार हुनुपर्ने बताए ।

‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’ उनले भने । प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’

राष्ट्रपति निर्वाचनको सन्दर्भमा सोधिएको एक जिज्ञासामा ओलीले, कांग्रेसले राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नु अनौठो कुरा नभएको तर उसले राजनीतिक संस्कार र इस्तर नराखेको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here