काठमाडौं ।
स्कटल्याण्डका खेलाडीहरुले पूर्व जानकारी दिएरै नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात नमिलाएको खुलेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार भएको खेलपछि स्कटल्याण्डका खेलाडीहरुले लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका थिए । स्कटिस खेलाडी तथा अफिसियलहरुले लामिछाने बाहेक अरु खेलाडीसँग हात मिलाएका थिए । लामिछानेतिर चाहिँ हेर्दै हेरेनन्, सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए ।
शुक्रबारको घटनाबारे अनलाइनखबरसँग इमेलमार्फत सम्वाद गरेका गरेका उनले भने, ‘खेल हुनुभन्दा केही दिनअघि नै नेपाल क्रिकेट संघ (क्यान) र सन्दीप दुवैलाई टिम स्कटल्याण्डको तर्फबाट यसबारे जानकारी गराइएको थियो ।’
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा नोटिस जारी भएपछि उनी नेपाल फर्किएका थिए । प्रारम्भिक सुनुवाइबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई उच्च अदालत पाटनले कडा शर्तहरुसहित २८ पुसमा रिहा गर्न आदेश दिएको थियो । तर, अदालतबाट मुद्दा छिनोफानो नभइ लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको भन्दै विरोध भएको थियो ।
स्कटल्याण्डले पनि त्यसकै विरोध गरेको हो । स्टकल्याण्ड क्रिकेटका सञ्चार प्रमुख पिटरसन भन्छन्, ‘स्कटल्याण्ड क्रिकेट सबै प्रकारको दुर्व्यवहारविरुद्ध कडा रुपमा उभिन्छ, आधुनिक समाजमा यस्ता खाले दुर्व्यवहारको कुनै ठाउँ छैन ।’ सन्दीपसँग हात नमिलाउने निर्णयमा टिमका सबै सदस्य र कर्मचारीको सर्वसम्मति रहेको पनि उनले बताए ।
सन्दीपसँग प्रतिस्पर्धामा सहभागी हुने तर, हात चाहिँ नमिलाउने अमिल्दो भएन र ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यो पूर्णतः तपाईंको व्यक्तिगत विचार हो ।’ पिटरसनले सन्दीपलाई टिममा राख्ने विषय चाहिँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र नेपाल क्रिकेट संघ (क्यान) को मामिला भएको बताए ।





