१ चैत, गुल्मी । गुल्मी जिल्लामा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो ।

रेसुङ्गा, श्रीङ्गेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो । जिल्लाका मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती र रिडी बहुमुखी क्याम्पस रिडी, जनज्योति बहुमुखी क्याम्पस पुर्कोट, धुर्कोट परमानन्द बहुमुखी क्याम्पस धुर्कोटमा सबै पदमा निर्विरोध भएको छ । दिगाम आर्दश बहुमुखी क्याम्पसमा भने निर्वाचन नहुने भएको हो ।

मानका टिकाराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश खरेल, चन्द्रकोट बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) बाट प्रभा गौतम, सत्यवती बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट अस्मिता भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै रिडी बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट गंगा कुँवर, रुरु संस्कृत विद्यापीठको स्ववियु सभापतिमा नेविसंघबाट नारायण पन्थी निर्विरोध निर्वाचित भएका छन् ।

धुर्कोट परमानन्द बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)बाट इन्द्र पोखरेल, जनज्योति बहुमुखी क्याम्पस पुर्कोटको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)बाट जीवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । यी क्यामपसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) बाट मिलेर एउटै प्यानल बनाएर उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्लाको श्रीङ्गेश्वर बहुमुखी क्याम्पसमा तीन संगठनले छुट्टा–छुट्टै प्रतिस्पर्धा गरेका छन् । बाँकी २ वटा क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मिलेर उम्मेदवारी दिएका छन् भने नेविसंघले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिने गरिन्छ । यहाँ अनेरास्ववियु र नेविसंघ बीच कडा प्रतिस्पर्धा हुँदैछ । यस क्याम्पसमा ०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापति सहित जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here