९ चैत, काठमाडौं । गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार भएको छ ।

बुधबार साँझदेखि हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।

उनीहरु मंगलबार घुम्न निस्किएका थिए । तर समस्यामा परेको सूचना सुरक्षाकर्मीले बुधबार साँझ मात्र पाएका थिए । तत्कालै उद्धार टोली परिचालन गरिएको थियो ।

उनीहरुलाई चुमनुब्री गाउँपालिकाको अप्ठेरो ठाउँमा फेला पारेर उद्धार गरी धर्मशालामा ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । त्यहाँबाट गोरखा सदरमुकाम ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाइएको उनले बताए ।

‘उनीहरुलाई फेला पार्दासम्म सकुशल रहेको सूचना छ, धर्मशालामा ल्याएर सुप पनि खुवाइएको जानकारी पायौं, त्यसपछि उद्धार टोलीसँग सम्पर्क हुन सकेको छैन,’ प्रजिअ भुसालले भने, ‘अत्यन्त दुर्गम क्षेत्र भएकाले टेलिफोन सम्पर्क पनि हुँदैन ।’

प्रजिअ भुसालका अनुसार उनीहरु कसरी त्यस्तो अप्ठ्यारो ठाउँसम्म पुगे भन्ने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here