१६ चैत, काठमाडौं । ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न एपीएफले कोशी प्रदेशलाई १५५ रनको लक्ष्य दिएको छ ।

सीता राना मगर र इन्दु बर्माको शतकीय साझेदारीमा एपीएफ क्लबले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १५४ रन बनाएको हो ।

१८ रनमा १ विकेट गुमाएको एपीएफका इन्दु र सीताले नट आउट १३६ रनको साझेदारी गरेका हुन् । यो साझेदारी ललितपुर मेयर कप क्रिकेटको ३ संस्करणको इतिहासमा सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि ललितपुर मेयर कप क्रिकेटको पहिलो संस्करणमा ललितपुर मेयर ११ बाट अस्मिना कर्मचार्य र सुमन खतिवडाले १०८ रनको साझेदारी गरेका थिए ।

कोशी विरुद्ध सीता राना मगरले ७९ रनको अविजित अर्धशतकीय परी खेलिन् । उनले ६८ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । उनको जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक हो ।

उनले यसअघि सुदूरपश्चिमविरुद्धको खेलमा ५२ रन बनाएकी थिइन् । सीताले यसै प्रतियोगिताको पहिलो संस्करणमा सुमन खतिवडाले बनाएको ७७ रनको उच्च रनको किर्तिमान तोडेकी हुन् ।

त्यस्तै तेस्रो क्रममा आएकी इन्दु बर्माले ५ चौका र १ छक्का सहित ५१ रनको अविजित अर्धशतकीय पारी खेलिन् । एपीएफकी ओपनर ज्योति पाण्डे १२ बल खेल्दै २ रनमा अलिशा खडियाको बलमा एलबीडब्ल्यू भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here