प्रतिनिधि सभाको संसदीय समिति गठन गर्न सभामुख देवराज घिमिरेले दलहरूसँग सांसदको नाम मागेका छन्। सोमबार बसेको पहिलो कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले दलहरूसँग संसदीय समिति गठन गर्न सांसदहरूको नाम दिन आग्रह गरेका हुन्। मंगलबार वा बुधबारसम्म यी समिति गठन गर्ने तयारी छ। त्यसैअनुसार कुन समितिमा कुन दलका कति सांसदले प्रतिनिधित्व गर्ने संख्या पनि तोकिएको छ। नेपाली कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा ८ जना सांसदको सिट संख्या तोकेको छ। कृषि, महिला र पूर्वाधार विकासमा ९ जना सांसदले प्रतिनिधित्व गर्नेछन्।

नेकपा एमालेले शिक्षामा ७ जना सांसदको सिट पाएको छ। अन्य सबैमा ८ जनाले प्रतिनिधित्व गर्न पाउने भएको हो। नेकपा माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा ३ जना सांसद र अन्यमा दुई जना सांसदले प्रतिनिधित्व गर्न पाउने छन्। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा एक जनाले र अन्यमा दुई जनाले प्रतिनिधित्व गर्नेछन्। जनता समाजवादी पार्टी नेपालले भने सबै समितिमा एक जना सांसदले प्रतिनिधित्व गर्न पाउनेछन्। जनमत पार्टीले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र सार्वजनिक लेखामा एक जना सांसद हुनेछन्। लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन्। नागरिक उन्मुक्ति पार्टीको लागि अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा एक जना सांसदको संख्या तोकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here