राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि जनाएका छन् । उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन् ।
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
अडियोमा आफ्नो वरपर रहेका व्यक्तिलाई पनि मुछिएको उल्लेख गर्दै उनले तिनलाई कारबाही गर्न अख्तियारमा निवेदन दिने बताए । ‘मेरै वरपर लागेका मान्छेलाई आरोप लागेको छ । अख्तियारमा म आजै निवेदन दिन्छु ।’ पार्टीमा रहेर भ्रष्टाचार गर्नेलाई कठालो समातेर जनताको माझमा पुर्याउने क्षमता आफूहरुसँग रहेको लामिछानेले बताए ।





