काठमाडौं : नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारलाई दवाब दिएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविनमाथि आशंका भइरहेका बेला उनले दोषीलाई उम्कन नदिने गरी सो प्रकरणको छानविन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकका शुन्य समयमा बोल्दै सांसद खतिवडाले कतिपय भूकम्प पीडितहरूले अझै पनि अनुदान बापतको दोस्रो र तेस्रो किस्ता रकम नपाएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताए।

‘मैले यो भन्दा पनि पहिला बारम्बार कुरा उठाउने गरेको थिँए–२०७२ सालमा गएको भूकम्पबाट पीडित भएका धेरै जनताहरूले अहिलेसम्म देशव्यापी रूपमा ६ हजार ११८ जना भूकम्प पीडितहरूले पहिलो किस्ता पाएर, दोस्रो र तेस्रो किस्ता नपाएर बस्नु भएको छ । वर्षाको समय लागिसक्यो । बारम्बार सरकारलाई अनुरोध गरिएको छ । घर निर्माण भइसके । तर सरकारले दिन्छु भनेको रकम अहिलेसम्म दिइएको छैन,’ उनले भने, ‘त्यो यथाशिघ्र यही महिना भित्र अथवा यही आर्थिक वर्षमा सम्पन्न हुने गरी सरकारले भूकम्प पीडितहरूलाई रकम उपलब्ध गराओस् भन्ने अनुरोध गर्न चाहन्छु । त्यस्तै थप एक लाख रूपैयाँ दिने भनेर पहिलाबाटै निर्णय भईसकेको थियो । त्यो आजसम्म जान सकेको छैन । त्यसमा पनि सरकारको ध्यान आकृष्ट होस् भन्ने अनुरोध गर्न चाहन्छु । चर्चित भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन होस् । कोही दोषी नउम्कियोस् । निर्दोष नफसोस् ।’

सांसद खतिवडाले बाँकी रहेका भूकम्प पीडितहरू अनुदान दिने काममा ढिलाई नगर्न आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको गुनासो गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here