२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोवध गर्न सकिन्न भन्ने चाल चल्ने काम भइरहेको आरोप लगाएका छन् ।

विहीबार पार्टी मुख्यालयमा पार्टीको पाँचौं केन्द्रीय समितिको बैठक सुरुवात गर्दै अध्यक्ष ओलीले भने, ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोवध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै उनले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुने बताए । ‘यसबाट अर्को कसैले यसलाई यही दिन देख्नका लागि गणतन्त्र ल्याउनुपरेको थियो भनेर भन्ने अभिव्यक्ति थियो अथवा गणतन्त्रमा भ्रष्टाचार हुन्छ राजतन्त्रात्मक प्रणाली भएको भए हुँदैनथ्यो भन्ने भाष्य बनाउन खोजिएको छ’ उनले भने, ‘जुनसुकै प्रणालीमा पनि भ्रष्टाचार हुनसक्छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्ने बताए । ‘भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ’ उनले भने, ‘हामीले सरकारलाई लगातार यही कुरा भनेका छौं ।’

बैठक सुरु हुनुअघि अध्यक्ष ओलीले पत्रकारसँग कुरा गर्दै आफूले ०४७ सालदेखि यताका सबै भ्रष्टाचारबारे छानबिन गर्न सरकारलाई भनेको बताए । सरकारले अहिले नक्कली भुटानी शरणार्थीबारे नियन्त्रणका लागि कदम चालेकोमा खुसी लागेको उनले बताए । ‘छानबिन प्रक्रिया अगाडि बढेकोमा खुशी नै छु,’ उनले भने ।

तर प्रधानमन्त्री प्रचण्डले भनेजस्तो फिल्म अझै नदेखिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here