सोमबार, ०४ असार २०८०, काठमाडौँ ।  नवलपुर बुलिङटार ६ घुमारीकी राधादेवी बोटे रुखको छाहारीमा बस्दै एकोहोरो रुपले सलल बग्दै गरेको कालिगण्डकी नदिलाई हेरिरहन्छिन् । त्यसपछि उनका मलिन आँखा खडेरीले पराल झैँ बनाएका आफ्ना मकैबारीतिर जान्छन् । कालिगण्डकी नदि र उनको बारीको दुरी करिव दुई सय मिटर मात्रै छ तर कालिको पानी खेतबारीसम्म पुर्याउने उचित सिँचाइको व्यवस्था नहुँदा पाँच विघामा लगाएको उनको मकै पुरै परालघारीमा परिणत भएको छ ।

त्यस्तै देशमै केही गर्छु र कृषिमा आत्मनिरभर बन्छु भनेर कम्मर कसेका सोही गाउँका अर्का किसान कुल प्रसाद कंडेलको पनि हालत उहि छ । आकाशे पानीकै भरमा आधुनिक तरकारी खेती गर्दै आएका कंडेल यो वर्ष भने खडेरीको चपेटामा परेका छन् । उचित सिँचाइको अभावले बारीका तरकारी सबै सुकेर जाँदा कंडेलले लाखौँको घाटा वेहोर्नुपरेको छ ।

आफुहरु नदि किनारमा रहदा पनि नदिको पानी सिँचाइ गरी खेतबारी सम्म पुर्याउन नसक्दा कालीबेसीका हजारौँ किसानहरु हरेक वर्ष खडेरीको चपेटामा पर्ने गरेका छन् । खेतबारीमा लगाएका मकै, धानका बिउ लगायत तरकारीबाली खडेरीले सोत्तर पारेपछि बालीनालीमा आगो लगाउनुको बिकल्प नरहेको किसानहरु बताउछन् । नजिकै पानीको प्रसस्तता हुँदा हुँदै पनि आकाशे पानीको भर पर्नुपर्ने दुखेसो किसानहरु सुनाउछन् ।

कालीबेसीका लागि सिँचाई: ७० वर्षदेखि आस्वासन मात्र
कालिबेसीका किसानहरुको सिँचाइ समस्या आजको मात्र होइन, ७० वर्ष पहिले पञ्चायतकाल देखि नै नवलपुर बुलिङटार गाउँपालीकाको अत्रौली, ढाँसी, हडाहा टार र घुमारीलाई सिँचाई आयोजनामा जोड्ने भनि दर्जनौ आस्वासन दिइयो । सिँचाइका लागि सामान्य बजेटले नभ्याउने भएपछि बजेटको आयतन बढाउनुपर्ने भन्दै प्रयाप्त बजेट ल्याउने कोसिसमै बर्षौ बित्यो तर सिँचाइको नाममा एक त्यान्द्रो काम अघि बढेको छैन ।

कालखण्ड बितेर गए, देशमा परिवर्तन आयो घरदैलोमै सरकार ल्याउँछौँ भनेर संघियता ल्याईयो तर कालीबेसीका किसानको समस्या भने जिउका तिउ नै रहेको छ । प्रदेश सरकारले प्रदेश भित्रका अत्यावश्यक कार्यक्रमहरु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गरी काम अघि बढाउनुपर्ने भएतापनि कालीबेसीमा सिँचाइको व्यवस्था अहिले सम्म कुनै पनि कार्यक्रममा नपरेको किसानहरुको गुनासो छ ।
त्यस्तै किसानहरुका लागि स्थानिय तहहरुले विभिन्न सिपमुलक तालिमहरु प्रदान गरेतापनि सिँचाईको असुविधाले त्यसको प्रभावकारीता नदेखिएको जनप्रतिनिधिहरु बताउछन् ।


हरेक वर्ष बुलिङटार गाउँपालीका वडा नं. ६ का किसानलाई वडाले कृषि विउँ पूजी कार्यक्रम दिदै आएको भएता पनि बालीनालीका लागि आकाशे पानीकै भर पर्नुपर्ने र उचित सिँचाईको व्यवस्था नहुँदा अधिकांस किसानहरु उपेक्षित हुनुपरेको वडा नं. ६ का वडाध्यक्ष मोहनराज पाटक बताउदछन् ।
सिँचाइको उचित प्रवन्ध गरीपाउँ भनि प्रत्येक दिन जसो वडामा गुनासो लिएर किसानहरु आउने गरेको सोहि वडा कार्यालयमा कार्यारत माधव प्रसाद पोखरेल बताउदछन ।
प्रायजसो नेताहरुको चुनावी एजेण्डामा पर्ने सिँचाई आयोजना चुनाव जितिसकेपछि भुसुक्कै बिर्सिनुले स्थानियहरुमा नैराश्यता छाएको छ ।
कृषिमा आत्मनिर्भर बनाउन स्थानिय सरकारले यथोचित प्रयास जारी राखेतापनि कालीबेसीका किसानका लागि सिँचाइ नै प्रमुख आधार बनेकोले प्रदेश सरकार र संघले यसतर्फ उचित ध्यान दिन आवश्यक रहेको स्थानिय प्रतिनिधिहरुको पनि माग रहेको छ ।
नवलपुरको उक्त क्षेत्रको प्रतिनिधित्व गर्ने संघमा नेपाली कंग्रेसका डा. शशांक कोईराला रहेका छन् भने गण्डकी प्रदेशमा नेकपा एमालेका तर्फबाट रोशन गाहा रहेता छन् । तर पनि विकासका मामलामा खासै प्रगती हुन नसकेको स्थानियको गुनासो छ । डा. कोइराला नवलपुरबाट प्रतिनिधि सभाका लागि चार पटक निर्वाचित भईसके, एमालेका रोशन गाहा पनि समानुपातिक तर्फबाट एक पटक संघमा र दुई पटक प्रत्यक्षमा गण्डकी प्रदेशमा निर्वाचित भए तर उनिहरुले विकासका कुनै पनि कार्यमा यथोचित काम नगरेको जनगुनासो रहेको छ ।

नवलपुर कालीबेसीका किसान खडेरीको मारमा परेका बेला यस पटकको बजेट तथा कार्यक्रममा समेत सिँचाईका लागि प्रयाप्त बजेट नपरेको वेवास्था गरेको भन्ने स्थानियको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here