२८ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अञ्जनी कुमार झाले आयोगको उपाध्यक्षका लागि आवेदन दिनु अगाडि नै राजनीतिक दलको सदस्यता, संस्थाको लगानी र पदीय जिम्मेवारी त्यागेको बताएका छन् । उनले कुनै पनि स्वार्थ समूहको दबाबमा नपरी काम गर्ने र पदीय दायित्व बहन गर्न नसकेमा पद त्याग गर्नेसमेत बताएका छन् ।

क्यान्सर रोग विशेषज्ञ प्रा. डा. झा यही भदौ २६ गते चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । उनी नेपाली कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको पूर्वकार्यकारी अध्यक्षसमेत हुन् । उनी भक्तपुरको ताथलीस्थित नालारोडमा रहेको काठमाडौं क्यान्सर सेन्टरको लगानीकर्तामध्येका एक हुन् ।

मन्त्रिपरिषदले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेपछि डा. गोविन्द केसीले विज्ञप्ति जारी गरी स्वार्थ समूहको दबावमा झा नियुक्त भएको भन्दै निष्पक्ष कार्य सम्पादनमा आशंका गरेका थिए ।

आज झाले प्रेस विज्ञप्ति जारी गर्दै ‘आयोगको उपाध्यक्षका हैसियतले कुनै स्वार्थ समुहको दबाबमा नपरी पूर्ण रुपमा निस्वार्थ, निष्पक्ष र जवाफदेही कार्य सम्पादन गर्ने’ बताएका छन् । ‘तथा कुनै पनि खालको दबाब वा प्रभावका कारण आम नागरिकको हित हुने गरी पदीय दायित्व वहन गर्न नसकेमा कुनै पनि बेला पदत्याग गर्ने वाचा गर्न चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यसभन्दा अगाडि उनले विज्ञप्तिमा लेखेका छन्, ‘आयोगको उपाध्यक्ष नियुक्तिको प्रक्रिया शुरु हुनु अगाडि राजनीतिक दल र चिकित्सा सम्बन्धी निजी शिक्षण संस्थामा मेरो संलग्नता थियो । तर स्वार्थको द्वन्द्व नहोस् भनेर आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिनुअगाडि नै म राजनीतिक दलको सदस्यता र ती संस्थाको लगानी र पदीय जिम्मेवारी दुवैबाट अलग भइसकेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here