१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि अध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । तर, प्रतिस्पर्धा भने तीन जनाबीच हुने संगठनका नेताहरूले दाबी गरेका छन् ।
अध्यक्षमा उपदेशकुमार यादव, सुदीन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, विश्वमणि थापा र योगन्द्रबहादुर बुढाले उम्मेदवारी दिएका छन् ।
निर्वाचनका लागि यादव, सापकोटा र राईबीच स्पष्ट प्यानल देखिएपनि पौडेल, थापा र बुढाको तलसम्म प्यानल देखिइसकेको छैन । अखिल क्रान्तिकारीका एक पूर्वअध्यक्षका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इच्छाएका व्यक्ति सापकोटा हुन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षबाट यादव र उपमहासचिव जनार्दन शर्मा समूहबाट राई अध्यक्षका उम्मेदवार बनेका छन् ।