जनकपुरधाम, चैत ४ – जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीकी अर्चना यादवमाथि गहिरो बज्रपात परेको छ। शनिबार होली खेल्ने क्रममा सामान्य विवादकै कारण उनका १५ वर्षीय छोरा आशु यादवको हत्या भएको छ।
स्थानीय लक्ष्मण महतोका २१ वर्षीय छोरा धर्मेन्द्र महतोले घरबाट बोलाएर छुरा प्रहार गरी आशुको हत्या गरेका थिए। धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, छाती, ढाड र पेटमा गहिरो चोट लागेका आशुको जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। प्रहरीले धर्मेन्द्रलाई छुरासहित पक्राउ गरेको छ।
परिवारजनका अनुसार, धर्मेन्द्रले होली खेल्ने क्रममा आफ्नो कुर्ता च्यातिएको भन्दै आशुलाई धम्की दिएका थिए। पछि साथीहरू पठाएर आशुलाई बोलाए र छुरा प्रहार गरे। आशुलाई बचाउने क्रममा उनका काका तथा छिमेकी रुपेश महतोसमेत घाइते भए।
घटना भएपछि गाउँमा शोक छाएको छ। आशुको शव आइतबार पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ।