९ भदौ, काठमाडौं । ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गोदावरीको हलको दुईपटक अनुगमन भइसकेको छ । हल व्यवस्थापन तथा मञ्च व्यवस्थापनको संयोजक विनोद श्रेष्ठ छन् । उनकै नेतृत्वमा गोदावरी हल व्यवस्थापनको कार्य चलिरहेको छ ।
‘सचिवालय कहाँ राख्ने, मञ्च कसरी व्यवस्थाप गर्ने, स्वयं कसरी परिचालन गर्ने, स्वास्थ्यकर्मीको टीम कति खटाउने जस्ता काम धमाधम भइरहेको छ’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी भन्छन् ।
विधान महाधिवेशनको तयारीका निम्ति एमालेले विभिन्न उपसमिति बनाएर काम गरिरहेको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापनको काम भइरहेको छ ।
अति आवश्यक आवास व्यवस्थापनको जिम्मा लालबाबु पण्डितलाई दिइएको छ । यद्यपि एमालेले प्रतिनिधिहरूका निम्ति आवासको व्यवस्था गरेको छैन ।
प्रतिनिधिहरूबाट कुनै शुल्क नदिने, तर आवासको व्यवस्था आफैं गर्नुपर्ने निर्णय एमालेले गरेको छ । यद्यपि आफैं आवासको व्यवस्था गर्न नसक्नेहरूका निम्ति लालबाबु पण्डित नेतृत्वको टीमले आवश्यक व्यवस्था गर्नेछ ।