६ असोज, काठमाडौं । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ । उनीविरुद्ध भ्रष्टाचार आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी गरेकी छन् ।
आइतबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, उनी विवादित पात्र भएको सूचना पाएपछि प्रधानमन्त्री कार्कीले ‘होल्ड’ गर्न भनेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन् ।
तर, सिफारिस विवादित भएपछि हिजो मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । दिउँसो २ बजे शपथ ग्रहणको तयारी छ ।