१६ माघ, पाल्पा । कुष्ठरोग निवारण जिल्ला घोषणा गरिएको पाल्पामा यो रोगका बिरामी बढ्न थालेका छन् । पाल्पालाई १६ वर्षअघि कुष्ठरोग निवारण जिल्ला घोषणा गरिएको थियो ।
तर, चालु आर्थिक वर्षमा मात्रै सात व्यक्तिमा कुष्ठरोगको संक्रमण फेला परेको छ ।स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षयता यो रोगका बिरामीको संख्या बढिरहेको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ७ र आर्थिक वर्ष २०८१/८२ मा १८ जना कुष्ठरोगी पहिचान भएका छन् ।गत आर्थिक वर्षको असारसम्म २१ जनाले औषधि खाइरहेका निमित्त प्रमुख पोखरेलले जानकारी दिए । यो आर्थिक वर्षको पुस मसान्तसम्म थप ७ जनाले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लाको तानसेन नगरपालिकामा चार जना, रैनादेवी छहरा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक, निस्दी गाउँपालिकामा तीन, पूर्वखोला गाउँपालिकामा एक, रामपुर नगरपालिकामा पाँच, तिनाउ गाउँपालिकामा तीन जना गरी १८ जना कुष्ठरोगी फेला परेका थिए । चालु आर्थिक वर्षको ६ महिनामा रामपुरमा दुई, पूर्वखोलामा एक, बगनासकालीमा एक, रैनादेवी छहरामा एक, तिनाउमा एक र निस्दीमा दुई जना फेला परेका छन् । स्वास्थ्य कार्यालय र स्थानीय तहले सक्रिय बिरामी खोजपड्ताल, कुष्ठरोग रोकथाम कार्यक्रम, जनचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गर्दै आएका छन् ।










