सरकारले ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको छ।
कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार १५ माघसम्म सञ्चालनमा रोक लगाए पनि प्यार्टी प्यालेसमा ५० जना र सपिङ मलमा २५ जनालाई मात्र प्रवेश दिइने शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङ मल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गराई कुनै सामान अनावश्यक रूपमा नछुने, मास्क अनिवार्य, सामाजिक दूरी कायम गराउने गरि सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
साथै प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर पार्टी प्यालेसहरु विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन्।
सरकारले मठ मन्दिर, गुम्बालगायतका धार्मिक स्थलहरूमा माघ मसान्तसम्म नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।
सबै प्रकारका आम सभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ साल माघ मसान्तसम्म नगर्ने। गोष्ठी, सेमिनार, बैठक जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने। भौतिक रूपमा उपस्थित भइ गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी, एन्टिजेन परीक्षण गर्ने गरि, रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने। त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने माघ ७ पछि खोपको पुरा मात्र लगाएका व्यक्तिको उपस्थितिमा मात्र गर्ने सरकारले निर्णय गरेको छ।
यस्तै विद्यालय, विश्वविद्यालय, तालिम, कलेज ट्यूसन सेन्टरलगायत अन्य प्रकारका शैक्षिक क्रियाकलाप गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगर्ने, भर्चुअलबाट मात्र गराउने निर्णय गरेको छ। तर विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा सबै किसिमका परीक्षा जनस्वास्थ्य पालना गरेर गराउने सरकारले निर्णय गरेको छ।
सरकारले रंगशालामा कुल क्षमताको एक तिहाई मात्र दर्शक उपस्थितमा खेलकुद सञ्चालन गर्न सकिने निर्णय गरेको छ।
उपस्थित दर्शकमध्ये आयोजकको खर्चमा एक तिहाई दर्शकलाई रेन्डम छनोटका आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने। माघ ७ पछि त्यस्तो खेलकुद कार्यक्रममा खोपको दुबै मात्र पुरा गरेकालाई मात्र खोप कार्डको आधारमा प्रवेश दिने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको छ।










