२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्ने भएको छ ।
रास्वपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ । रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ ।
उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । संसदीयको दलको नेता चयन गर्ने उक्त व्यवस्था संशोधन गर्न लागिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी गराइन् ।
रावलले अनलाइनखबरसँग भनिन्, ‘संसदीय दलको नेता चयन गर्न विधानलाई समयानुकूल बनाउन जे–जे संशोधन गर्नुपर्ने छ । संशोधन गर्छौं ।’
बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निर्क्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो ।
पार्टी सदस्यहरूबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएको हुँदा नयाँ विधि बनाउन लागिएको नेताहरूले जानकारी गराएका छन् ।
प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरू मध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवार संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा उल्लेख छ ।
रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रुपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको छ । पार्टीले सरकारको नेतृत्व र्दा संसदीय दलको नेताले नेतृत्व गर्ने पार्टीको विधान अनुसार शाहलाई संसदीय दलको नेता बनाउन लागिएको हो ।
रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षसँग एकता हुँदा भावी प्रधानमन्त्री शाहलाई बनाउने सहमति बनेको थियो । पुस १३ गते दुई पक्षबीचमा सहमति बनेको थियो ।














