राजनीतिलेख / विचारसमाचार

प्रचण्ड पथ, पाङ्ग्रा विनाको रथ : केशव राम कोली

नेपालमा १० वर्षे शसस्त्र जनयुद्धको अगुवाइ गरि देशमा आमूल परिवर्तन ल्याउछौ भनी गरिब नेपाली जनतालाई ठुल- ठुला सपना बाडेर युद्धमा होमिएका पुष्पकमल दाहाल उर्फ प्रचण्डले देशलाई शान्ति प्रक्रियामा लग्न २०६२-०६३ को दोस्रो जनाअन्दोलनका शिखर कमान्डर थिए । ज्ञानेन्द्र कु गरेको कारणले अरु सबै राजनीतिक दलहरू पनि माओवादीको एजेन्डालाई साझा एजेन्डा बनाएर अघि बढे । आन्दोलन र जनदबाबले करिब २४१ वर्ष भन्दा लामो समय शासन गर्दै आएको एकात्मक राजतन्त्र र अन्य धेरै सामन्ती सोच, विचार, व्यवहार र अधिनायकवाद सदासदाको लागि अन्त्यस्टी गरियो ।

देशमा लोकतन्त्र, समावेशी, धर्म निरपेक्ष, संघीयता जस्ता नयाँ एजेन्डा र विचारमा बहस छ्लफल भयो । अन्ततः माओवादी आफ्नो एजेन्डा स्थापित गर्न सफल भयो । यो माओवादीको मात्र एजेन्डा थिएन । देश्मा परिवर्तन सबै सचेत नागरिक, पिछडित, दलित, आदिवासी, जनजाति, महिला, अल्पसंख्यक तथा यो समाज र शासकबाट ताडना पाएका सबै नेपालीका साझा एजेन्डा थिए । अहिले देश यही राजनीतिक एजेन्डा र लाइनमा चलेको छ । यो परिवर्तन श्रेय र नेपाली जनतामा क्रान्तिकारी विचारको विकास गरि आन्दोलन, परिवर्तन र उपलब्धीमा पुर्याउने श्रेय माओवादीलाई जान्छ । अर्थात त्यसका अगुवा सर्वोच्च कमरेड प्रचण्ड र उनको पार्टी हो । नेपालको इतिहासमा स्वर्णीम अक्षरमा आफ्नो र पार्टीको नाम लेख्न प्रचण्ड सफल भए । त्यसपछि २०६४ चैत २४ गते भएको संविधानसभाको निर्वाचनमा माओवादी सबै भन्दा धेरै जनमत दिएर जनताले सिंहदरबार पठाए । अर्थात माओवादी देशको सबैभन्दा ठुलो राजनीतिक दलको रुपमा स्थापित भयो । ९ महिना सरकार चलायो ।

संविधान बनाउने कोशिश गर्न नपाउदै सरकार तुहियो । सरकार तुहिनुका अन्य धेरै कारण भए पनि मुख्य कारण तत्कालीन सेनापती रुक्मांगद कटवाल र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड दुई जना कारक मानिन्छन् । २०६४ को संविधानसभाको निर्वाचनले देशलाई संविधान दिन सकेन । पछि २०७० मंसिर ४ गते फेरि दोस्रो संविधानसभाको निर्वाचन भयो । त्यसले २०७२ असोज ३ गते देश भुकम्पले थिलथिलो भएको बेला र भारतको नाकबन्दी गरिरहेको बेला काङ्ग्रेस सरकारको नेतृत्वमा देशले एक थान संविधान पायो । संविधान पाए पनि थुप्रै ऎन, कानुन र नियम बन्न बाकी छन । अहिले हाम्रो संसद केही राजनीतिक दलहरुको बन्धक बनेको छ ।

संविधान निर्माण पछी संघीयता सम्बन्धि कानुन बनाउने, प्रदेशको नाम र सीमा कोर्ने काम गर्दै गर्दा २०७४ मा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गरि देश संघीयता कार्यान्वयनमा गयो । यो असल थियो । संघीयता लागु भएपछि स्थानीय सरकारहरुले आफ्नो ५ वर्षे कार्यकाल सकिदैछ । दोस्रो स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने निर्णय भएको छ । देशले स्थानीय तहको माध्यमबाट गाउंगाउमा सिंहदरबार भनेझैं केहि असल काम गरिरहेको छ । यद्यपि त्यस भित्र पनि भ्रष्टाचार, नातावाद, कृपावाद र वेथिती भए पनि जनतालाई सहज र सरल भएको छ् ।

देश माओवादीको एजेन्डा र लाइनमा चलिरहेको भएतापनि माओवादी भने किनारातिर छ । जुन बल, दल र जनमतले मुलढाकाबाट सिंहदरबार प्रवेश गरेको थियो त्यो रहेन । अहिले माओवादी अर्काले चलाएको एउटा पुरक गोटी मात्र बनेको छ । गठनबन्धन गर्दै अरु पार्टीको नेतालाई प्रधानमन्त्री बनाउदै २-४ मन्त्रालयको हिस्सेदार बन्नु शिवाय माओवादीको पोल्टामा केही परेन । आफू अनुकुल निर्णय गर्न लगाउने, नगरे सरकार छोडने धम्की दिने विकल्प माओवादीसंग छ । कुनै समयका कमान्डर कुनामा थन्किन पुग्नु, तिनको आवाज देशको मुल राजनीतिमा शसक्त नहुनु यिनको नियति थियो वा स्वार्थ केन्द्रित राजनीति त्यो दृश्य हेर्न शान्ति प्रक्रियापछि माओवादी र प्रचण्डले चालेका एक-एक कदम र मार्ग, पुनरावलोकन गरी दृश्यालोकन गरे काफी हुन्छ ।

 

देखि माओवादी पार्टी छिन्नभिन्न हुन थाल्यो । एउटा पार्टी टुक्रिएर आधा दर्जन नयाँ राजनीतिक दल खोलिनु, कठिन समयमा साथ दिएका साथीहरूले साथ छोडनु, प्रचण्डको पार्टी र सरकारमा परिवारवाद हाबी हुनु । पार्टी एकल निर्णयको बन्दी बन्नु । पार्टीमा अर्काको कुराको सुनाइ नहुनु । आफैंले देखेको दर्शन र जनतालाई दिएको आश्वावासनमा चल्न नसक्नु । राजनीतिक मुद्दाहरूबाट विमुख हुनु । सपना समाजवाद र समानताका बाडे पनि व्यवहार र सेवा पुजीवाद र सीमित व्यापारी घरानाको गर्नाले प्रचण्ड जनताको मन र मस्तिश्कबाट टाढिन थाले । अब प्रचण्ड सर्वहारा वर्गका प्रचण्ड रहेनन । उनी केही कर्पोरेट कम्पनी र व्यापारीका पुष्पकमल चाकर बने । चाकरी बापत आएको कालोधनबाट आफ्ना वरपर भएका भक्तहरुलाई विभिन्न प्रसादहरु बाड्नमा व्यस्त भए । प्रसादमा कसैलाई ठेक्का, कसैलाई मन्त्री, कसैलाई जागीर, कसैलाई राजदुत, दिन सकिने आवश्यकता अनुसार जे दिन सकिन्थ्यो त्यही दिएर भक्तहरुलाई दान वा बरदान दिएर सामसुम पारे । अन्धाभक्तहरुबाट वाहवाही पाइरहे । भक्तहरुको त्यही भक्ती र आराधनाले उनी ३१ वर्ष देखि पार्टीको सिंहासनमा आशीशीत छन । भक्तले भगवानको क्षमता, ज्ञान, कार्यशैली, इमान्दारीता, इच्छाशक्ती, गलतलाई गलत भन्दैन । भगवानले जे भन्यो त्यही गर्छन् । जे दियो त्यही ग्रहण गर्छन् । बस भने बस्छन् । उठ भने उठछन । जे भन्यो त्यही गर्नुपर्छ त्यही त हो साचो भक्ती । भक्त हुनु भनेको दास हुनु हो । दासको कुनै हक अधिकार, बोली वचन, क्षमता, सुझाव सल्लाह दिने हक हुदैन । अर्थात भक्तको तार्किक क्षमता पनि त्यसै वर्जित हुन्छ । आफ्ना कुरा राख्ने अधिकार र स्वतन्त्रता हुदैन । यही भक्तीवाद बारे कसैले भनेका छन ईश्वरको भक्ती गर्नु त असल हो । तर राजनीतिमा कुनै नेता वा व्यक्तिलाई देवत्वकरण गर्नु उसका सबै कामको गुण गान गाउनु त एक जना भक्तको लागि भलाइ होला । जनतालाई प्रत्यक्ष कुठारघात, अन्याय,अत्याचार र धोकाधाडी हुन्छ । अनि भक्तले पाएको प्रसाद आफ्नो र आफ्नो परिवार र आफन्तको भलाइमा प्रसाद बाडन्छ । यता भक्त पनि मख्ख उता भगवान पनि मख्ख ।

वरपर जयजयकार मात्रै गाउने भएपछि त भगवानलाई पनि म त सृष्टिको उत्तम निस्कलन्क र पवित्र भएको महशुस हुनु कुन नौलो कुरा भयो ? त्यसैले उनले चाहेर पनि नचाहेर पनि आफ्ना कमीकमजोरी र कार्यशैली सुधार्न सकेनन्।
पार्टी र राजनीतिलाई पगु र आफ्नो नीजी पेवा बनाए । प्रचण्ड आफैंले बेला-बेला आफ्नो पार्टीको जिम्मेवारी सम्हाने राजनीतिक उत्तराधिकारी नभएको आत्मालोचना गर्छन् । हुन पनि किन नहोस् अरुलाई पनि जिम्मेवारी दिएर पार्टी र देश हाक्न सक्ने राजनीतिक चेला निर्माण गरेको भए पो उत्तराधिकारीको अभाव महशुस हुदैन थियो । राखे त केवल लोभी, स्वार्थी, चाटुकर र अन्धाभक्तहरु जो चुइक्क बोल्दैनन् । अगुवाले जता डोर्याए त्यतै जान्छन् । आफ्नो भिजन र नीति अनुसार काम गर्न जनमत पार्टीसंग छैन । पार्टी धरापमा, राजनीति धरापमा, विश्वास गर्ने कुनै ठाउ र मत छैन । माओवादीको अवस्था यस्तो भयो कि एउटा नेपाली आधुनिक गीतका शब्द जस्तो हिजो अर्कैसंग देखे, आज अर्कैसंग देखे, जनताको साथ छोडे देखि अर्कै-अर्कैसंग देखे । त्यस गीतमा दुई शब्द थप्न मिल्ने ठाउ मिल्यो भने, यो भन्न मिल्छ कि, हिजो भारतसंग देखे, आज चीनसग देखे , जनताको साथ छोडे देखि कहिले ठेकेदारसंग देखे, कहिले व्यापारी र भ्रष्टाचारीहरुसंग देखे, तिमीलाई धेरै- धेरैसंग देखे भन्नु पर्ने अवस्था माओवादीको छ ।

मैले यहा प्रचण्डका कमीकमजोरीहरु औंल्याएर उहाँलाई नाङ्गेझार गर्न खोजेको् होइन । म त प्रचण्डको एउटा शुभचिन्तक पनि हु । तर, म शुभचिन्तक हु भन्दै गर्दा अन्धाभक्त भने कदापि होइन । प्रचण्डका असल कुराको समर्थक र खराब कुराको आलोचक हु । त्यसैले जे छ, त्यही बोल्दै छु । नेपाली राजनीति र लोकतन्त्रका लागि डटेर लडने योद्धा हुन प्रचण्ड । शस्त्र युद्धमा हुदा र सरकारमा बस्दा प्रचण्डको व्यवहारमा आएको आकाश पतालको विभिन्नता आउनु दुर्भाग्य थियो। यहीँ दोक्लापन र भिन्नताले गर्दा कति मुद्दा र एजेन्डा छायामा परे । पार्टी कोपविभाजनको नराम्रोमोड भएर गयो । तर प्रचण्डले यति ठुलो जनमत, पार्टी, नेता, कार्यकर्ता, र जनताको विश्वास गुमाए । एकपछि अर्को सहकर्मी र प्रभावशाली नेताहरुले छोडेर जानु सिङ्गो माओवादी पार्टीलाई दीर्घकालीन घाटा हो । उनमा कुनै प्रकारको आत्मालोचना आएन । यो वर्ष सम्मपन्न भएको पहिला ८ औं रास्ट्रिय भेला बाट,पछि दुई- तीन दिनपछि ८ औं माहादिवेशनमा परिणत भएको महादिवेशनमा प्रचण्डले घोर आत्माआलोचना सहित नयाँ राजनीतिक प्रतिवेदन प्रस्तुत गरे भनिएको छ । के कति आत्मालोचना गरिएको छ हेर्न बाकि नै छ । विभिन्न समयमा प्रचण्डले देश र जनहितमा चालेका कदमहरु प्रशस्त छन ।

प्रचण्डका पछिल्ला राजनीतिक घटनाक्रम भने अचम्म लाग्दा छन । कहिले कसैलाई काध थाप्ने, कहिले कसैलाई झार्ने प्रवृत्ति र मानसिकताको सिकार भइरहेका छन । आफ्नो स्वार्थका लागि जो कोहीसंग पनि हात् मिलाउने । स्वार्थ पूरा नभए हात र साथ दुबै छोडने व्यक्तित्व बनेको छ । यही प्रवृती एमसीसीका सम्बन्धमा पनि प्रचण्डले देखाए । भित्र- भित्र एमसीसी पास गर्छुभन्ने, बाहिर हुदैन भन्ने, अहिले आएर सरकारमा बसेर प्रतिपक्षको भुमिकामा उभिने सकस प्रचण्डहरुको छ । यो प्रचण्डको देशभक्ति होइन । यो उनको अर्को जालसाजी हो । गुमेको राजनीतिक साख फर्काउने प्रयत्न हो । एमसीसी नामक दुनोको विपक्षमा उभिदा प्रचण्डको राजनीतिक दुनो कति सोझिएला त्यो त आगामी निर्वाचनले देखाउने छ । बाहिर मिडिया र समाचारले प्रचार गरेझै प्रचण्ड कतै विदेशी हस्तक्षेपमा त छैनन् ? यो खोक्रो रास्ट्रवाद त होइन ?

अन्तमा कमरेड प्रचण्ड र उनको नेतृत्वमा रहेको राजनीतिक दल माओवादी केन्द्र लगायत अन्य सबै राजनीतिक दलहरुको राजनीतिक सफलताको शुभकामना व्यक्त गर्दछु । साथै देश र जनताको लागि केही असल गर्ने सदबुद्दी प्रदान होस शुभकामना ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button