७ असोज, काठमाडौं । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ ।

रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो ।

बुधबार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित एक कार्यक्रममा कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नाष्टलाई हस्तान्तरण गरेका छन् ।

बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै डीएनए नमूना परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालामा पनि परिक्षण गर्ने काम भइरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलले बताए ।

पौडेलका अनुसार, हालसम्म नास्टको प्रयोगशालाले करिब ८०७ वटा नमुना प्राप्त गरेको छ । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक १२ वटा नमुना नास्टले प्राप्त गरेको उनले जानकारी दिए ।

बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएपछि नमूना परीक्षणलाई तीव्रता दिन विभिन्न प्रयोगशालाबीच काम बाँडफाँट गरिएको उनले बताए ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फरेन्सिक ल्यावमा पनि विदेशी विज्ञको सहयोग रहेको उनको भनाइ छ ।

‘अहिले हामी यस प्रयोगशालाका वैज्ञानिकहरूले सम्बन्धित विज्ञहरूसँग सहकार्य गरेर काम गरिरहेका छौँ । यस क्रममा उहाँहरूले हामीलाई तालिम दिने, हाम्रो क्षमता विकास गर्ने र आवश्यक डेटा उत्पादन गर्ने काम गरिरहनुभएको छ,’ उनले भने, ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आएका हड्डी, दाँतलगायतका नमुना तथा हराएका व्यक्तिहरूको पहिचानका लागि उत्खनन गरिएका नमूनामध्ये केही उहाँहरूले आफैँ परीक्षण गर्नुहुन्छ र केही नमुना हामीलाई पठाउनुहुन्छ ।’

नास्टले प्राप्त गर्ने नमुनाको प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक प्रयोगशालालाई उपलब्ध गराउने पौडेलको भनाइ छ ।

‘हामी ती नमुना आधिकारिक रूपमा लिन्छौं, यसको वैधानिक जिम्मेवारी हामीसँग होइन, सम्बन्धित फरेन्सिक संस्थाहरूसँग नै छ । हामीले तयार गरेको डेटा उहाँहरूलाई पठाउँछौं,’ उनले भने, ‘त्यसपछि डेटा विश्लेषण गर्ने काम फरेन्सिक ल्याव तथा प्रहरीको सम्बन्धित संयन्त्रले गर्छ । उहाँहरूसँग अन्तर्राष्ट्रियस्तरको डेटाबेसमा पहुँच पनि छ । हामीले पठाएको डेटा त्यहाँ समावेश हुन्छ ।’

उनका अनुसार नास्टमा भइरहेको कामले तत्कालीन डीएनए परीक्षणसँगै नेपाली वैज्ञानिकको क्षमता विकासमा समेत सहयोग पुगेको छ । चिनियाँ विज्ञहरूले आफ्ना उपकरणसहित नेपाल नेपाली वैज्ञानिकलाई तालिम र प्राविधिक सहयोग गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here