पहिलो पटक कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूको ‘तारो’ बनेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ के गर्दैछन् ? उनलाई काम गर्न सहयोग भइरहेको छ कि असहयोग भइरहेको छ ? भन्ने विषयमा सबैको चासो छ ।

नगर प्रमुख साम्पाङले आफूलाई अहिलेसम्म त्यस्तो असहज केही पनि नभएको बताएका छन् । ‘मलाई त्यस्तो कुनै असहजता छैन, सबैले सहयोग गरिरहनु भएको छ,’ उनले भने, ‘जे जस्तो आइलाग्छ, त्यसलाई त्यस्तै तरिकाले मिलाउँदै जाने हो, म डराएको पनि छैन, मलाई अप्ठ्यारो लागेको पनि छैन ।’

पुराना नीति, नियम, कानुन र प्रक्रियाका बाबजुद आफूलाई त्यस्तो अड्चन महसुस नभएको उनको भनाइ छ ।उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा पनि उपमहानगर प्रमुखसँग सहज ढंगले काम भइरहेको बताए । ‘काम गर्न एकदम सहयोग भएको छ, कतिपय नमिलेका विषयहरू मिलाउने गरी मैले पनि प्रमुखज्यूलाई सहयोग गरेको छु,’ बेघा भन्छन्, ‘उहाँ आफै धेरै सक्रिय र बुझ्ने भएका कारण मलाई पनि सहज भएको छ, उहाँको एजेण्डा र मेरो एजेण्डा जनताकै समस्या समाधान गर्ने भएकोले कुनै अप्ठ्यारो छैन ।’

पहिलो कार्यपालिकको बैठकमा विवाद भएपछि दोस्रो बैठक बस्न नसक्दा बेघाले नै सहजीकरण गरेका थिए । जसका कारण साम्पाङले प्राविधिक पक्षमा काम गरिरहँदा बेघाले राजनीतिक शक्ति सन्तुलनको भूमिका खेलिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here