विशेषसमाचार

‘जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था छैन’

बर्खा लागेसँगै काठमाडौं उपत्यकामा झाडापखाला र हैजाको संक्रमण देखा परेको छ । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा रोग पुष्टि भएको छ । उपत्यका विभिन्न १० स्थानका मानिसमा हैजा रोग देखिएको ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ ।

पछिल्लो समय पुष्टि भएका झाडापखाला, हैजा संक्रमणको स्रोत के हो ? उपत्यकाका विभिन्न ठाउँठाउँमा हैजाका बिरामी पुष्टि हुनु महामारीको संकेत त होइन ? हैजा फैलन नदिनका लागि सरकारले कस्तो काम गरिरहेको छ ? यस्ता विषयमा रातोपाटीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दाससँग कुराकानी गरेको छ । प्रस्तुत छ, रातोपाटीकर्मी माया श्रेष्ठले डा. दाससँग गरेको कुराकानीको सम्पादित अंश –

राजधानीका विभिन्न ठाउँमा हैजाका बिरामी फेला परेका छन्, हैजा संक्रमणको मुख्य स्रोत के हो ?

राजधानीका विभिन्न १० स्थानका १२ जना मानिसमा हैजा पुष्टि भएको छ । हैजा देखिएका मानिसमा कुन स्रोतबाट फैलिएको छ भन्नेमा केन्द्रित रहेर अहिलेसम्म संकलन गरिएका नमुनामा पानीकै कारण संक्रमण भएको रिपोर्ट आएका छन् ।

बागबजारमा हैजा पुष्टि भएकाहरुलाई पनि पानीकै माध्यमबाट सरेको पाइएको छ । त्यहाँको पानीमा इकोलाइ कोलिफर्म पुष्टि भएको छ । यो दिसाको कारणले भएको देखियो । डिल्लीबजारमा पानी प्रदूषित भएका कारण हैजा रोग देखिएको नमुना परीक्षणपछि थाहा भयो ।

यस्तै, सानेपामा हैजा पुष्टि हुनेमा पनि प्रदूषित पानीका कारण भएको नतिजाले देखाएको छ । ललितपुरको सानेपा क्षेत्रमा ८ वटा नमुना परीक्षण गर्दा ६२ प्रतिशतमा इकोलाइ नै पुष्टि भएको छ । पानी प्रदूषित भएका कारण हैजा देखिएको भन्ने कुरा पुष्टि भएको छ ।

इनारको पानी, ट्युबवेलको पानी पनि प्रदूषित देखिएको छ । सिल तोडेको जारको पानी पनि प्रदूषित देखिएको छ । कहीँ सिल नतोडिएका जारका पानी पनि प्रदूषित भेटिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button