नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताएका छन् ।
‘विश्वव्यापी रुपमा विभेद र असमानता बढेको छ । यो पुँजीवादी विश्व व्यवस्थामा आएको संकट हो’, राजधानीमा आयोजित नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक कार्यशालामा पुनले भने, ‘मार्क्सले भन्नुभएको थियो, पुँजीवादी व्यवस्थाको असफलताको गर्भबाट समाजवादको जन्म हुन्छ । त्यो समय अब आएको छ ।’ पुनले संविधानमै नेपाललाई समाजवाद उन्मुख उल्लेख गरिएको भन्दै राज्यले समाजवादका आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताए । समाजवादको जग बसाल्न स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्यान्न र आवासमा जनताको अधिकार ग्यारेण्टी हुनुपर्ने उनले बताए ।
संघ, प्रदेश र स्थानीय सरकारहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा विगतको तुलनामा लगानी बढाए पनि त्यो पर्याप्त नभएको उनले उल्लेख गरे । केही प्रदेश र पालिकाहरुले जनताको आधारभूत स्वास्थ्य निःशुल्क गरेको उनले बताए । ‘हामीले संविधानमा नेपाललाई समाजवाद उन्मुख भनेका छौं’, पुनले भने, ‘त्यो भनेको शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेण्टी हो ।’





