जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ
सोमबार बिहान प्रचण्डसँग भेटेका उपेन्द्र यादवले नेकपा एसले मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई शपथग्रहण गराएपछि अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।
प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भने पछि सोमबार साँझमा बसेको कार्यकारिणी बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ । नेकपा एकीकृत समाजवादीले पनि सरकारमा नयाँ मन्त्री पठाएको छ । एकीकृत समाजवादीका नयाँ मन्त्रीले सोमबार मात्र शपथ लिएका थिए ।





