सरकारले पछिल्लो समय निरन्तर उकालो गतिमा रहेको पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार कर कटौती गर्ने सर्तसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्य घटाउने घोषणा गरेको हो ।

उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले यही शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका थिए । उनको घोषणासँगै निगमले शनिबार राती १२ बजेदेखि नै लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गर्‍यो । निगमले यसअघि १९९ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको पेट्रोलको नयाँ बिक्री मूल्य १७९ रुपैयाँ कायम गर्‍यो ।

यस्तै, १९३ रुपैयाँमा बिक्री हुँदै आएको डिजेल र मट्टितेलको नयाँ बिक्री मूल्य १६३ रुपैयाँमा आइपुग्यो । खासगरी, आयात गर्दा भन्सार बिन्दुमा लाग्दै आएको विभिन्न शीर्षमा लाग्दै आएको कर कटौती गर्न अर्थमन्त्रालय सहमत बनेसँगै पेट्रोलियम पदार्थको मूल्य घटेको हो । हाल सरकारले पेट्रोल आयातमा प्रतिलिटर ६५ रुपैयाँ र डिजेल आयातमा प्रतिलिटर ४५ रुपैयाँ कर असुल्दै आएको छ ।

यही उच्च करमा भारी समायोजन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मालाई आग्रह गरेसँगै मूल्य घट्ने निश्चित भएको थियो । त्यसअघि, शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले सरकारलाई जसरी पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको थियो । सोअनुसार देउवाले अर्थमन्त्री शर्मालाई कर कटौती गर्न र उद्योगमन्त्री बडूलाई मूल्य घटाउन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here