सरकारले आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहौल बढेको छ । योसँगै विभिन्न दलका ‘हेभी वेट’ नेताहरुको चुनाव क्षेत्र र प्रतिस्पर्धीहरूका बारेमा पनि लेखाजोखा हुन थालेको छ ।

यिनै ‘हेभी वेट’ मध्येका एक हुन् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल । उनको चुनाव क्षेत्र रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ हो । बुटवल उपमहानगर समेत पर्ने उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट को उम्मेदवार बन्ला भन्ने चर्चा पनि चुलिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २५ हजार ६४ मतान्तरले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका युवराज गिरीलाई पराजित गरेका पौडेललाई यो पटक भने चुनाव जित्न निकै कठिन हुने देखिएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जस्तै सत्तारुढ गठबन्धन एकजुट रहे यो क्षेत्रमा विष्णु पौडेललाई चुनाव जित्न कठिन हुने देखिन्छ ।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा बुटवल उपमहानगरपालिकामा १९ वडा, तिलोत्तमा नगरपालिकाका ६ वटा वडा पर्दछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरका १९ वडामध्ये काँग्रेसले १२ र माओवादीले १ गरी १३ वटा वडा सत्तारुढ गठबन्धनले जितेको छ । थप एउटा वडा पनि काँग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिएकाले जितेका छन् ।

एमालेले जम्मा ५ वटा वडा जितेको छ । बुटवलका वडा नं. १०, ११, १४, १८ र १९ वडामात्र एमालेले जितेको छ ।

स्थानीय तहको मत परिणाम अनुसार बुटवल उपमहानगरमा एमालेका मेयरका प्रत्याशी बाबुराम भट्टराईले जम्मा २२ हजार ७१८ मत ल्याएका थिए भने गठबन्धनबाट नेपाली काँग्रेसका खेलराज पाण्डेले ३० हजार २४९ मत ल्याएर विजय हासिल गरेका थिए ।

त्यस्तै, तिलोत्तमामा पर्ने ६ वटा वडामध्ये दुई वटामात्र एमालेले जितेको थियो भने गठबन्धनका दलले ४ वटा वडा जितेका छन् । यहाँ ६ वटै वडाको कुल मत हेर्दा गठबन्धन दलको मत १० हजार ८६५ छ भने एमालेको ८ हजार ३०२ छ ।

स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा प्रतिनिधिसभा निर्वाचनतर्फ रुपन्देही–२ मा एमालेका लागि सत्तारुढ गठबन्धन निकै भारी हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here