कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिए ।
उनका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक÷दुई दिनसम्म समय लाग्ने गरेको छ । “विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन् ।” उनले भने, “रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौँ ।” उनले अत्तरिया प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको बताए । “परीक्षण गर्न टाढा पठाउनु पर्दा समय लाग्छ सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।” उनले भने, “रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक÷दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ ।”
पछिल्लो केही वर्षयता कञ्चनपुरमा भारतबाट आउने तरकारीमा कमी आएको अध्यक्ष सुनारले जानकारी दिए । अहिले डडेल्धुराबाट तरकारी आयात हुने गरेको व्यवसायी बताउँछन । “आलु र प्याज मात्रै भारतबाट आउने गरेको छ ।” सब्जीमण्डीका तरकारी व्यवसायी सन्तोष महरले भने, “७० प्रतिशत स्थानीय उत्पादन छ ३० प्रतिशत मात्रै बाहिरबाट आउँछ ।” सिजनको बेला स्थानीय उत्पादन प्रशस्त हुने भए पनि शीतभण्डारको अभावका कारण अफ सिजनका बेला भारतबाट तरकारी आयात हुने गरेको व्यवसायीका बताउँछन् ।





