काठमाडौँ ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको विधेयक जस्ताको तस्तै पारित गरेर सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमै पठाएका हुन् ।
राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने सन्देशसहित साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्। उक्त विधेयक प्रतिनिधिसभाले पुनः हुबहु पारित गरेपछि राष्ट्रियसभामा पुग्यो । राष्ट्रियसभाले विधायन समितिमा छलफलका लागि पठाए पनि पर्याप्त छलफल नै हुन नपाई भदौ १७ गते सो विधेयक जस्ताको तस्तै पुनः पारित भयो ।
तर, संघीय संसद्बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । ‘राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’ संविधानको धारा ११३ उपधारा ९४० मा उल्लेख छ ।





