लामो समयको रस्साकस्सी, छलफल, कुराकानी र कोठे बैठकहरूपछि बनेको नयाँ सरकारले सपथग्रहण गरेसँगै मन्त्री परिषदको पहिलो बैठक बोलाएको छ र केही सकारात्मक निर्णयहरू पनि गरेको छ । आफू पहिला दुईपटक प्रधान मन्त्री हुँदा खासै उल्लेखनीय काम गरेर देखाउन नसकेका नवनियुक्त प्रधान मन्त्री पुष्पकमल दाहालले यसपटक भने आफूले प्रधान मन्त्रीको सपथ लिएकै दिन केही सकारात्मक निर्णयहरू गरेर यो सरकारले अब केही नयाँ कामहरू अवश्य गर्ने छ र नेपाली जनताले पहिला जस्तो हरेक क्षेत्रमा दुःख–कष्ट भोगिरहनुपर्ने छैन भन्ने सन्देश दिन खोजिरहेका छन् । आजसम्म पनि नेपाल सरकारले व्यवस्थित तुल्याउन नसकेका सामान्य कुराहरू, जस्तैः नागरिकता, राहदानी र साइसेन्स वितरणमा हरेक दिन हरेक व्यक्तिले दुःख, सास्ती नभोगेको बिरलै पाइन्छ । यी क्षेत्रहरूमा सुधार गर्ने निर्णय भएको छ, जुन एकदमै सकारात्म हो । साथै अर्थतन्त्र, राजस्व चुवाहट, सुशासन लगायतका क्षेत्रहरूमा जनतालाई परिवर्तनको अनुभूति दिने गरी सुधार गर्ने निर्णय गर्नु पनि अर्को सकारात्मक पक्ष हो । यद्यपि विभिन्न पृष्टभूमि भएका पार्टी र फरक फरक विचार राख्ने व्यक्तिहरू समावेश भएको सरकारले आगामी दिनहरूमा के कसरी काम गर्छ, त्यो भने हेर्न बाँकी नै छ तर पनि सुरुमै केही सकारात्मक निर्णयहरू गरेर त्यसलाई कार्यान्वयनमा ल्याउन खोज्नु आफैँमा यो सरकारको सकारात्मक कदम हो ।
हुन त सरकार बनेको र जिम्मेवारीमा आएको समयमा प्रायः सबैले भन्ने र दिने सन्देश त सकारात्मक नै हुन्छ अनि सुरुका केही हप्ता, महिनासम्म त राम्रै कामहरू पनि देख्न पाइन्छ । तर कालान्तरसम्म दीगो विकासका क्षेत्रहरूमा कसरी काम गर्छन् भन्ने कुराचाहिँ महत्वपूर्ण हुन्छ । नवनियुक्त प्रधान मन्त्रीलाई आफूले सोचे जस्तो काम गर्न र आफ्नो पार्टीकै घोषणा–पत्रमा उल्लेख भएका कुराहरू पूरा गर्न त गाह्रै होला तर पनि सरकार प्रमुखले चाहेका खण्डमा धेरै कामहरू गर्न सकिन्छ र आज नेपाली जनताले चाहेको पनि काम तथा विकास गर्ने सरकार हो । हामी सबैको कामना यही छ, यो नयाँ सरकारले धेरै परिवर्तनकारी कामहरू गर्दै जाओस् ।




