शेर ए.सी
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनले सबभन्दा ठुलो पार्टी बनेको नेपाली कांग्रेस आगामी पाँच वर्षका लागि प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा पुगेको छ । गएका केही वर्ष र गत निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर अगाडि बढेका नेपाली कांग्रेस, माओवादी र एकिकृत समाजवादी लगायतका पार्टीहरूको गठबन्धन अन्ततः तोडिएको छ र फेरि नयाँ गठबन्धन सुरु भएको छ ।
आफू पहिलो चरणमा प्रधान मन्त्री हुनुपर्ने दावीका साथ गठबन्धनको बैठकमा प्रस्तुत भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड“ नेपाली कांग्रेसले राष्ट्रपति र प्रधान मन्त्री दुवै पद नछोड्ने भएपछि उनले एकाएक युटर्न गरेर नेकपा एमाले लगायतका अन्य पार्टीहरूसँग नयाँ गठबन्धन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधान मन्त्री नियुक्त भएका छन् । भर्खरै प्राप्त समाचारअनुसार उनी लगायत तीन जना उपप्रधान मन्त्री र चार जना विना विभागीय मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण समेत गरिसकेका छन् ।
आज यो स्थिति सृजना हुनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पदलोलुप नै हो भन्नेहरू धेरै छन् र अहिलेको अवस्थामा सबै घटनाक्रमहरूलाई हेर्दा त्यस्तै नै आभास हुन्छ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधान मन्त्री दुवै पद छोड्न नचाहेकोले प्रचण्डलाई के.पी. ओलीको शरणमा जान र नयाँ गठबन्धन बनाउन बाध्य भएको उनी निकट स्रोतको दावी छ । नेकाप एमालेका अध्यक्ष के.पी. शर्मा ओली अन्ततः नेपाली राजनीतिका चतुर खेलाडी साबित भएका छन् । आफूसँग सम्बन्ध तोडेर गएका प्रचण्ड, जसको कारण नेकपा एमालेको तत्कालीन संघीय र प्रादेशिक सरकार ढलेको थियो भने गत निर्वाचनमा पनि ठुलो घाटा लागेको थियो । त्यस कुराबाट रन्थनिएका ओलीले आखिर प्रचण्डलाई फकाउन सफल भएका छन् । यदि यसो गर्न नसकेको भए नेकपा एमालेले अझ धेरै घाटा बेहोर्नुपर्ने थियो भन्ने धेरै जनाको आँकलन रहेको पाइन्छ । जे होस्, समयमा बुद्धि पुराएकाले अब केही समयका लागि थोरै भए पनि एमालेलाई राहत मिलेको छ । तर समयमा सही निर्णय गर्न नसकेको र आफ्नो हट नछोडेकाले नेपाली कांग्रेसले संघ लगायत प्रदेशमा समेत पाँच वर्षका लागि धेरै ठुलो घाटा बेहोर्नुपरेको छ । यस घटनाले एकिकृत समाजवादीलाई ‘तातो दुध निल्नु न ओकल्नु’ भन्ने उखान चरितार्थ भएको छ । यही नयाँ गठबन्धनमा जाऊँ ओलीसँग कटाक्ष भइरहेको अवस्था छ, नजाऊँ फेरि आम चुनावबाट राष्ट्रिय पार्टी हुन त सकिएन सकिएन, अब त पार्टी नै समापनको बाटोतिर लाग्ला कि भन्ने डर पो भैसक्यो ?
यस नयाँ समिकरणबाट को कसलाई के कस्तो फाइदा वा घाटा भयो त्यो त आगामी समयले बताउला तर नवनियुक्त प्रधान मन्त्री प्रचण्डले आज सपथग्रहण गरेर आफू जसरी पनि प्रधान मन्त्री बन्ने इच्छा पूरा गरेका छन् भने एमालेले पनि आफ्नो पुरानो दुष्मनीको बदला नेपाली काँग्रेस र एकिकृत समाजवादीसँग लिन सफल हुनुका साथै आफ्ना दलका केही नेताहरूलाई सरकारको मुख्य जिम्मेवारीमा पठाउन सफल भएको छ ।
चुनावको समयमा निकै ठुला र खरा कुराहरू गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी पनि आखिरमा सत्ताकेन्द्रित हुँदै सरकारको तेस्रो उपप्रधान मन्त्रीसहित केही मन्त्रालयको जिम्मेवारी हात पार्न सफल भएको छ । कुनै खास सिद्धान्त र परिचय नभइकन उदायको पार्टी गत चुनावमा बिस सिट जितेका कारण प्रचण्डलाई मागेका मुख्य मन्त्रालयहरू दिन बाध्य पार्दै नयाँ सरकारमा सामेल भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी भने हाललाई सरकारमा समावेश नहुने भएका छन् । तर जनमत पार्टी भने यो सरकारमा सामेल भएर उधोग मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएको छ । नवनियुक्त प्रधान मन्त्री, तीन जना उपप्रधान मन्त्रीहरू र चार जना विना विभागीय मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना छ । साथै यो गठबन्धन पाँच वर्षसम्म नै कायम रहोस् र देशमा राजनीतिक स्थिरता आओस्, यही हाम्रो कामना छ ।





