बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार तनहुँ जिल्ला अदालतले अभिनेता पूर्ण विक्रम शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका हुन् ।

तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन भने पाउने छैनन् । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साँढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सो सजाय पूरा नगरेसम्म शाह थुनामै रहनुपर्नेछ ।
एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि अनुसन्धान गरेर तनहुँ प्रहरीले २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएको दुई दिनपछि २०७८ चैत १० गतेको आदेशबाट उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन’ भन्दै पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाह उच्च अदालत पोखरा गएका थिए । तर उच्च अदालत पोखराले पनि शाहलाई थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here