रास्वपा सभापतिसमेत रहेका उम्मेदवार लामिछानेलाई नेपाली कांग्रेसबाट चितवन २ मा उम्मेदवार रहेका जितनारायण श्रेष्ठले बधाई दिएका छन्। मतगणनाको अन्तिम परिणाम नआउँदै कांग्रेस उम्मेदवार जितनारायणले रास्वपा उम्मेदवार लामिछानेलाई बधाई दिएका हुन्। ‘जनताले परिवर्तन खोजेको र परम्परागत दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’ जितनारायणले पत्रकारहरूसँग भने, ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’
पुराना राजनीतिक दलहरूप्रति जनताको आकर्षण नदेखिएको पनि श्रेष्ठले बताए। आफूलाई मत दिनेप्रति उनले आभार व्यक्त गरेका छन्। कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपा उम्मेदवार रविलाई खादा लगाएर बधाईसमेत दिएका छन्।
लामिछानेले अहिलेसम्म ४५ हजार ८ सय ४२ मत ल्याइसकेका छन् भने जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याएका छन्।





