कास्की : गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते दिनको ४ बजे) भित्रमा सरकार गठनका लागि आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यस धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएका अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ। यसअघि वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो।










