काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरूले उठाएका प्रश्नहरू पनि वेबसाईटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै ती प्रश्नहरू र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्नेगरी वेबसाईटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन्।
उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्याइन्। उनले ललितपुरमा स्वास्थ्य विमा, स्वास्थ्यकर्मीहरूको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गरेकी छन्।
सांसद कार्कीले सरकारका मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति समेत जनाइन्।
हामी संसदमा आइपुग्न निर्वाचनमा अर्बौ खर्च हुन्छ। एक दिनको संसद बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्ष भन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन। प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था ६–७ दिन भित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खैं ललितपुरमा स्वास्थ्य विमा कहिले आउँछ ?,’ सांसद कार्कीले भनिन्, ‘नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरूको जवाफ आएन । यो सदन हामी सांसदहरूको भन्दा पनि सार्वभौम नेपाली जनताको बढि हो । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के–के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरूको अवस्था के छन ? आम नागरिकले हेर्ने गरी वेबसाईटमा राख्ने व्यवस्था मिलाइयोस् ।’










