सिरहा । जिल्ला अदालत बार सिराहाले न्यायाधीश लिलाराज अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला बारको बैठकले न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत बार, सिराहाका अध्यक्ष मदन साहका अनुसार न्यायाधीश अधिकारीले विधिशास्त्रीय मान्यताविरुद्ध आदेश तथा फैसला गरेको, मेलमिलापबाट टुङ्ग्याउनुपर्ने मुद्दालाई पनि मेलमिलापमा नपठाएको र मुद्दा स्थगित गर्न दिइएको निवेदन अस्वीकार गरी फैसला गरेको लगायतका आरोप लगाएका छन् ।

आइतबार साँझ जिल्ला अदालत बारको बैठक बसी न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरिएको र मंगलबार कार्यालय खुलेलगत्तै सो को जानकारी सिराहा जिल्ला अदालत लगायतका सरोकारवाला निकायलाई दिइने अध्यक्ष साहले रातोपातीलाई बताए ।

न्यायाधीश अधिकारीले आदेश तथा फैसला गर्दा पनि पटकपटक कैफियत गरेको र मोलाहिजाको गन्ध आएको भन्दै इजलास नै बहिष्कार गर्ने निर्णय गरिएको अध्यक्ष साहले बताए ।

यता न्यायाधीश अधिकारीले भने आफूले कुनै कमजोरी नगरेको बताएका छन् । रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै न्यायाधीश अधिकारीले जग्गा किचलोसम्बन्धी मुद्दामा मेलमिलापमा पठाउनुभन्दा पहिले मालपोत र नापीबाट कागजात झिकाउन आदेश दिएकै कारण आफूमाथि त्यस्तो आरोप लगाइएको दाबी गरे । उनले भने, ‘तराइका जिल्लामा जग्गासम्बन्धी किचलो बढी हुन्छ । मेलमिलापमा आएर कतिपय जग्गालाई वैधानिकता दिन खोजिएको तथ्यहरू पनि आउने गरेका छन् । त्यसकारण पहिले नापी र मालापोतबाट जग्गाको प्रकृति, अवस्था आदिबारे बुझ्नलाई आदेश गरेको थिउँ, उहाँहरूले त्यही विषयलाई उठाउनुभएको भन्ने सुनेको छ । हालसम्म मलाई त्यस सम्बन्धमा कुनै जानकारी छैन ।’

यता सिरहा जिल्ला अदालतका श्रेष्तेदार जगदीश्वर भट्टराईका अनुसार मंगलबार कार्यालय खुलेलगत्तै न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्नेसम्बन्धी पत्र जिल्ला बारले अदालतलाई बुझाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here