सर्वोच्च अदालतले जन्मकैद सदर गरेको १२ दिनपछि नै राष्ट्रपतिले दिएको आममाफीका कारण रेशम चौधरी आइतबार कैदमुक्त भए ।

२०७२ साल भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएपछि जन्मकैदको सजाय सुनाइएका चौधरी रिहा भएपछि धेरैले सक्रिय राजनीतिमा फर्किने ठानेका छन् ।

फरार अवस्थामा नै २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचित भएका र जेल परेपछि उनकै सक्रियतामा खुलेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा ४ सिट जितेका कारण उनी रिहा भएपछि राजनीतिबाहिर रहन त पक्कै सक्दैनन् । तर सक्रिय राजनीति गर्न त्यति सहज भने नरहेको कानुनविद्हरु बताउँछन् ।

रेशम चौधरी ज्यान मारेको अभियोगमा २० वर्ष कैद सजाय पाएका कसुरदार हुन् । मन्त्रिपरिषदको सिफारिसमा उनलाई कैदमुक्त गरेका राष्ट्रपतिले उनको कैदमात्रै मिनाहा गरेका हुन्, उनीमाथिको कसुर भने यथावत छ । राष्ट्रपतिको निर्णयका कारण उनले फौजदारी कसुरदारको रुपमा झेल्नुपर्ने कानुनी बन्देजबाट भने छुटकारा पाउँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here