काठमाडौं । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि १७ जेठमा नयाँ दिल्ली पुगेका प्रचण्ड र समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार नै दुई देशबीच सात समझदारी/सम्झौता भएको थियो । त्यसैदिन संयुक्त पत्रकार सम्मेलनमार्फत समकक्षी मोदीसँगै उभिएर भेटवार्ताबारे प्रचण्डले भए गरिएका सहमति/सम्झौताबारे जानकारी दिएका थिए ।

यसको भोलिपल्ट, शुक्रबार मध्य प्रदेशको उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरे । भ्रमण टोलीका अरु चार मन्त्री प्रकाशशरण महत (अर्थ), एनपी साउद (परराष्ट्र), शक्ति बस्नेत (ऊर्जा) र रमेश रिजाल (उद्योग) सहित मन्दिर पुगेर हिन्दू विधि बमोजिम गेरु वस्त्रमा पूजा गरेको तस्वीर सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भइरहेको छ ।

विपक्षी दलले मात्रै नभएर स्वयं माओवादी केन्द्रकै नेता–कार्यकर्ताले प्रचण्डको आलोचना गरिरहेका छन् । पूर्वप्रधानमन्त्री एवं प्रचण्डका पुराना सहयोद्धा बाबुराम भट्टराईले त्यही तस्वीर राखेर समाज र देशको दिशाबारे प्रश्न उठाएका छन् । ‘हामी कता जाँदैछौं ? देश कता जाँदैछ ?’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here